उद्योगको परिभाषा के हो ?
नेपाली चलचित्र उद्योग यो शब्द बोक्न सक्ने अवस्थामा पक्कै पनि चलचित्र क्षेत्र पुगेको छैन, त्यसकारणले अहिलेलाई हामीले चलचित्र क्षेत्र मात्रै हो भन्ने भाषा प्रयोग गर्दा उपयूक्त होला भन्ने लाग्छ । किनभने चलचित्र क्षेत्रलाई उद्योगतर्फ अघि बढाउने प्रयासमा आज समस्त चलचत्रिकर्मीहरु लागेका छन् र लाग्नु पनि पर्दछ । सरकारी निकायका महानतम् अध्येताहरुवाट आजसम्म पनि यस क्षेत्रलाई उद्योगको हिसाबमा मौखिक भन्दा बढि कुनै शब्द काहिं कतै प्रयोग गरेको पाईदैन । यसको ज्वलन्त उदाहरण हो पछिल्लो पटक सरकारले वजेट भाषण गर्दा नेपाली सिने क्षेत्रलाई गरेको उपेक्षा र हाम्रा चलचित्र क्षेत्रका अग्रज नेताहरुको विना वादल गर्जने मेघ शैलिको चिच्चाहट । सरकारी निकाय अझ भन्दा कलाकारहरुलाई प्रयोग गरेर चुनाव जित्ने नेताहरुले यस क्षेत्रलाई फगत जोकरहरुको एउटा सानो झुण्डहरु उफ्रिफाप्री गर्ने क्षेत्र हो र यी कलाकारहरुलाई जोकर मानेर जोकरहरुलाई समय सन्दर्भमा प्रयोग गरेर आफ्ना झोले झाम्टेहरु मार्फत आम जनतालाई मनोरञ्जन गराएर चुनाव जित्ने सिंढिका रुपमा प्रयोग गर्दै आएका छन् । हामी पनि ती नेता तथा उच्चपदस्थहरुको आश्वासनलाई महानवाणी सम्झिएर तिनीहरुको भक्तिगानमा विलिप्त भएकाहरु पनि छौ, नपत्याए चलचित्र बिकास वोर्ड, चलचित्र जाँचपास समिति अथवा यी यस्तै कार्यकर्ता भर्तीकेन्द्रलाई नै हेरौ, कति योग्य, कति क्षमतावान् व्यक्तिहरुले तत् तत् क्षेत्रमा काम गर्न पाएका छन् त ? यहाँ त विज्ञहरु बैराग्य धारण गरेर हिंड्नु पर्ने अवस्था छ भने अर्धज्ञानवाट प्रेरित महान् कार्यकर्ताहरु समस्त चलचित्रकर्मीहरुको हक हितको स्थापना र चलचित्र क्षेत्रलाई उद्योगको रुपमा चित्रण गर्न अभ्यस्त रहेका छन् । अनि समाचारका पन्नाहरु, कुनै सेमिनार तथा गोष्ठिहरुमा नेपाली चलचित्र क्षेत्रलाई उद्योग भनेर ठूला र चर्का भाषण गर्दै एक कप कफि सट्ट तान्दै घर फर्कने पठाओ खर्च कसले दिन्छ अथवा लिफ्ट कस्ले दिन्छ भनेर प्रतिक्षा गरेर वसिरहेका हुनेछाँै, आजको हाम्रो यथार्थ अवस्था यहि नै हो । आज नेपाली चलचित्रहरु निर्माण गर्नु पर्दा बैंकहरुले ऋण पत्याउँदैनन्, आम दर्शकहरुले नेपाली चलचित्रलाई अझै विश्वास गर्न सकिरहेका छैनन् । सिनेमाका प्रदर्शक तथा वितरकहरु पनि नेपाली सिनेमाको ब्यवसायलाई लिएर तर्सिएका छन्, उनिहरु पनि निर्मातालाई डुवोस् भन्ने त पक्कै पनि चाहँदैनन् तर आवश्यकता सहयोग अथवा साझेदार पनि मन देखि गरिरहेको देखिंदैन, अनि यसै क्षेत्रको रुपमा समेत टिक्न सघर्ष गररहेको यो चलचित्र क्षेत्रलाई हामी चाँहि चलचित्र उद्योग हो भनेर मख्ख परिरहेका छौँ । खासगरी उद्योगको परिभाषा के हो ? कुनै पनि क्षेत्र उद्योगमा कसरी परिणत हुन्छ ? उद्योगको नियमहरु के के हुन् ? कुनै पनि क्षेत्र उद्योगको रुपमा परिभाषित भैसके पछि सरकारी निकायवाट के कस्ता सुविधाहरु उपलब्ध हुन्छ ? के हामीले यी सवै कुराहरु कहिले बुझ्ने कोशिस गर्यौ त ? गरेका छैनौं भने ठूला उद्योगी व्यवसायिहरु संग एउटा साक्षात्कार कार्यक्रमको आयोजना गरौं र अनिहरुवाट सिकौं उद्योगको परिभाषा र नियमहरु । हामी आज पनि चलचित्र क्षेत्रलाई सिमित नेता तथा कर्मचारीहरुको दया र आर्शिवादले चल्नुपर्ने अवस्थावाट गुज्रिएका छाँै, हाम्रो चलचित्र विकास बोर्डको निति, जाँचपासको निति, प्रर्दशनको नीति हेर्दा स्पष्ट थाहा हुन्छ, हामी कहाँ छौं भनेर । चलचित्र सम्वन्धि विविध नीति तथा कानुनहरु समयमा आउन सकेका छैनन् आएकाहरुपनि नेपाली चलचित्र क्षेत्रलाई फाईदा पुग्नेगरी कहिल्यै पनि आएको महसुस पार्टी कार्यकर्ता चलचित्रकर्मीहरु बाहेककाले गर्न पाएका छैनन । हामी स्वायत्व चलचित्र बिकास बोर्डको परिकल्पना गरिरहेका छौं, केन्द्रिय जाँचपास समिति चलचित्र बिकास बोर्डको मातहतमा हनुपर्छ भनिरहेका छौं । चलचित्र कल्याणकारी कोषको बृद्धि हुन पर्छ भनेर विशिष्ठ चलचित्र अभिनेत्री वसुन्धरा भुषाल सहितका चलचित्रकर्मीहरुले हारगुहार गरिहनु भएको छ । सुनुवाई त हुँदैन भयो भने पनि त्यो प्रर्याप्त छैन । चलचित्र क्षेत्रलाई अघि वढाउन वजेटमा कुनैपनि प्याकेजहरु ल्याईएको छैन । चलचित्र क्षेत्रको भोलिको भविश्य पूर्ण रुपमा अन्योलमय अवस्थामा छ । अझ हामी सुगाको रटान झैं उफ्रि उफ्रि कोलाहल मच्चाउँदै छौ, हामी चलचित्र उद्योगका मान्छे ! यदि सरकारले हामीलाई उद्योगको रुपमा स्थापित गर्न चाहेको हो भने उद्योगको सर्वमान्य नियम अनुसार नीति, नियम तथा सहयोग गर्न पर्ने हुन्छ । उद्योग बनाउने हामीले हो, लगानी गर्ने पनि हामीले हो र हामी पनि चलचित्र क्षेत्रलाई उद्योगको रुपमा स्थापित भएको हेर्न चाहन्छौ । हाम्रा चलचित्रहरु पनि विदेशी भूमिमा रेगुलर शोहरु भएको हेर्ने चाहना छ । हामी पनि चाहन्छौँ नेपाली चलचित्र विदेशमा चलाएर नेपालमा विदेशी मुद्रा भित्र्याउँ । के सरकारी निकाय हामीलाई सघाउन तयार छ त ? हामीलाई थाहा छ, नेपाली चलचित्र क्षेत्र भित्र प्रसस्त समस्याहरु छन्, थुप्रै विकृतिहरु पनि होलान्, तर यो क्षेत्र हामी चलचित्रकर्मीहरुको मुलघर हो, हामी हाम्रो घरभित्रको समस्याहरु समाधान गर्न सक्षम छौं र समय आएपछि पक्कै पनि हामी परिणाममुखी कदम चाल्न प्रयास गर्ने छौं । अव के चलचित्र विकास बोर्ड भर्तीकेन्द्र भन्दा वाहिर निस्केर चलचित्र क्षेत्रलार्ई उद्योगको रुपमा स्थापना गर्न तयार छ त ? के सरकार चलचित्र विकास वोर्डलाई स्वतन्त्र रुपमा काम गर्न दिन तैयार छ त ?